डेटिङ्ग नं. १---Roshan Koirala

वाहिर मृत्यु नै मृत्यु छ,
केवल अपमानका कुराले
आकाश निसास्सिएर धर्तीमा नाक गाडेको,
त्यस्तोमा आँसुमा चिप्लिएर
धेरै हृदयघातहरु वेहोसीको पर्दा पछाडी लुकेर
अनौठो रिहर्सल गराउँछन् जिन्दगीलाई—
तिमी मलाई यस्तो संघारमा प्रेम गछ्र्यौ ?

भित्र भुङ्ग्रो नै भुङ्ग्रो छ,
नबन्ने घरहरु बनाउन क्लिङ्कर तातेर
भट्टीमा ताल न वेतालको संगीत बजाउँछन्,
मानौँ सूक्ष्म नसाहरु एकै पटक हजारौँ ठाउँ फुटिरहेछन्,
तिमी मेरो कस्तो आवेग मन पराउँछ्यौ ?

ताजा पत्रिकाले पुछेको पार्कको बासी सिटमा
हजारौँ प्रेमीप्रेमिकाका वैठकहरुसँग हामी एकै सिलसिलामा जोडिएर
यो मोडतिर मोडिएका होइनौ ?
हामीलाई ढावाका दाँत खिहिर्याउने समोसाहरुको खपतले थेगेका गफगाफले
भविष्यको कस्तो सपना देखाएछ—
गोलमाल, मसालेदार, चपचिल्लो . . . ?

सिनेमाका अँध्यारा गुफामा उमारिएका
रुमानी प्रेमका उज्याला फूलजस्ता सपनाहरु—
आऊ एक पटक आइसक्रिमसरि मीठा यी सपनालाई
थोरै जिन्दगीको गर्मीले परीक्षण गरौँ !

निमेषभरको ढ्याउले खोक्रिएको पेटलाई
सस्तोभन्दा सस्तो अन्नको भाउ वताऔँ ।
आऊ, योजना बनाऔँ,
यो प्रेमको रेफ्रिजेरेटेड ठण्डी उत्रिएपछि
तिमी कुन ग्रिन–कार्ड होल्डर खोज्छ्यौ,
म कुन रेगिस्तान ताक्छु, अड्कल गरौँ !
तिम्रो–मेरो फेसबुकका इन्बक्सभित्र
कस्ता भावमुद्राका स्माइलीले वर्चश्व पाउला हिसाव गरौँ !
तिमी यस्तो हिसावकितावलाई
आशावादको गँजेडी नशाले त खल्बल्याउँदिनौ नि, हैन ?

आजको दिन तथ्यांकैतथ्यांकमा उभिएको छ,
तापक्रमको, नेप्सेको, ब्लडप्रेसरको, मोवाइलको व्यालेन्सको.... खै के–केको
र, त म आतंकैआतंकमा जिएको छु,
यो उम्कँदो फुर्सदमा एक पल तिम्रो आँखामा डुब्दा र तैरिँदा
एक–दुई घुट्को आतंकै पिएको छु,
तिमी पनि यी नानीबाट त्यस्तै पिउँछ्यौ, हैन ?

जति वाहिर मृत्यु आत्मराग अलापिरहन्छ,
जति भित्र ज्वाला आत्मदाह फलाकिरहन्छ,
हाम्रा स्वप्नका रंगीन वेलुनहरु चारै दिशामा
विश्वनगरहरुका चिल्ला भुईँहरुमा लत्रिने गलैँचामा सिइन
तछाँडमछाँड गरिरहेछन्,
विहान आँखा मिच्दा, सम्झ्यौ
त्यो श्वासजस्तो अभ्यस्त जपना ?

तिमी र म विछोडले जन्माएका प्रेमी
मिलनलाई हरेक विन्दुमा तुहाएर आँखा जुधाउनु छ,
यो मौनताले यही वताएकी हौ, हैन ?

खैर, साँझ गल्दैछ,
पृथ्वीले पश्चिम खर्चेर पूर्व छल्दैछ,
न रात न दिनमा एकै छिनलाई यसरी भेटेर
था’छैन हामीभित्र कस्तो सिनेमाको कुन नायक–नायिकाको दृश्य चल्दैछ,
तर यसमा कुनै शंका छैन
त्यो सिनेमामा दर्शकदीर्घामा कोही छैन,
थपडी, सिट्ठी, गाली र तोडफोडको सम्भावना छैन,
अहँ, यो समय नसिकउन्जेल रोकिने छैन !
परस्परमा टाँस्सिएका रित्ता सिनेमाहरु चलिरहँदा
यसको आवाज अरु कुनैको आवाजसँग ठोक्किने छैन,
तिमी निश्चिन्त छ्यौ, हैन ?

Comments