मेरो छाती---जिके पोखरेल

मेरो छाती
+++
मेरो छाती 
ठ्याक्कै 
रेखा मेटिएको जेब्राक्रसजस्तै छ
धन हुनेहरू आऊ

सवारी साधनका पाङ्ग्राले घोटेर जाऊ
धन नहुनेहरू
खालि खुट्टाले कुल्चेर पैताळाको डोब छाडेर जाऊ
किनकि आउने-जाने सबै यात्रीका पदचाप हेर्न
लालायित छन यी आँखा

लालायित छन
धनळे मात्तिएका
निजी सवारी मालिकको मुखारविन्दबाट भद्दा गाली सुन्न
उत्सुक छन
ड्राइभर र खलाँसीळे ओकलेका आमाचकारी मातृभजन सुन्न
तयार छन
पछाडिको सिटमा प्रेमिका राखेर बाइकको कान
कुनै रिसाहा मास्टरले बालख विद्यार्थीको
कान निमोठेझैँ निमोठ्दा निस्केको
कर्कश उत्तरआधुनिक झङ्कार सुन्न ।
+++
छेवैमा उभिएको ट्राफिकले
मदमत्त तरुनीको छातीमा छड्के आँखा दागेको देख्दा
कस्तो आनन्द आउँदो रहेछ ।
कलेजको ड्रेस लगाएर अँगालो मार्दै बाटो काट्ने
किशोरकिशोरीले चुहाएको
वैँशालु सुगन्धको सुवासले मनै हर्दोरहेछ ।
+++
हो म पनि ठ्याक्कै रेखा मेटिएको जेब्राक्रसजस्तै
बीच सडकमा उत्तानो उभिएको छु ।
आऊ
कुल्चिएर,
घोटेर,
नाघेर

थुकेर जाऊ
किनकि मेरो चेतना पनि सडकको किनारामा उभिएर
फेसबुकमा तरुनीको फोटो हेर्दॅ
लापर्बाह तलब पचाइरहेको ट्राफिक पुलिसझैँ बेपर्बाह
तमाम दुर्गतिका रमिता हेर्दै दुनियाँको
सडकमा
सरकारमा
सभ्यतामा
संस्कारमा

आफ्नै व्याहोराको किनारामा सुस्ताइरहेछ ।
+++
आऊ
एकपल्ट मेरो छातीलाई
थोरै भए पनि कष्ट दिएर जाऊ
किनकि
मेरो छाती पनि रेखा मेटिएको जेब्राक्रसजस्तै छ ।


कवि: जिके पोखरेल

Comments