#आमा
लाखौं पिडा मनमै दबाएर
कारोडौ मुस्कान समेट्ने
मेरी आमाको मुहार
आज
अझै चाउरिएको देखेँ
जब देखें उनको तस्बिर
फेसबुकको भित्तामा
-दिदीले टाँस्देकी रैछिन्
हो ,
मेरी आमा
जो म रुंदा खूब फकाँउथिन्
बिरामी पर्दा कति आत्तिन्थिन्
म ननिदाएसम्म
कपाल सुमसुमाउँदै
नानाथरी कथा गित
सुनाउथिन्
गुन्गुनाउँथिन्
मलाई याद छ ,
मेरो कलम कापीसङ्ग
उन्ले आफ्नो पसिना साटेको
रातभर नसुती
चर्खामा घ्वारर् घ्वारर् धागो बाटेको
तैपनि
त्यो आँखामा झलमल्लै ज्योती हुन्थ्यो
ओठमा मुस्कानको मोती हुन्थ्यो
तर आज
त्यो आँखापनि धम्लिएको देखें
शायद फोटोखिच्दा
दिदीले “हाँस्नु आमा"
भनेकी हुँदि हो
मुजा मुजा चाउरिएको चेहरा
जबरजस्ती हाँस्नलाई तन्किएको
कति नसुहाएको ,
आज उनको हाँसेको फोटोले'नी
मन पोल्दैछ भतभती
आज उनी पनि त निदाउन्नन् रातभर
उनी पनि त बिरामी छिन्
उनको कुप्रिएको शरीरलाई'नी त
सहाराको जरूरत छ
तर
उनको आँशु पुछिदिने हात छैन
सहारा दिने काँध छैन
उनको लाठी पर्देशमै अड्केको छ
उनी बढो कष्टसङ्ग
बुढ्यौलीको उकाली चढ्दी हुन्
ओराली झर्दी हुन्
अनि सुस्ताएर हेर्दिहुन्
पावर निख्रिएका आँखाहरुले
निधारमा हत्केलाको पाली लगाएर
उ पर क्षितिजमा एकोहोरो-
सायद सहाराको प्रतिक्षा
ब्यग्र हुँदोहो त्यो मनमा ।
Comments
Post a Comment