‘हस्ताक्षर’--- Dilip Kunwar

‘हस्ताक्षर’ रङहरुको उपत्यका भित्र मेरो देशकोे झन्डामा पोतिएको रातो रङले मेरी आमाको सिन्दुर सगँ युद्ध गरेको देखेपछि, मलाई चेत भयो कि – म एक – समयले सम्बोधन गरेको घोषणा पत्र हुँ । जहाँ, च्यातिएको चप्पलको फित्ता किन्न शहर छिरेर कहिल्यै नफर्केका मेरो ‘बा’ का सपनाहरुको क्षेत्रफल सुरक्षित छ । जहाँ, कपालमा रातो ‘रिबन’ ले फुल बनाएर स्कुल हिडेकी मेरी बहिनीको एक फाँको मुस्कानको आयतन सुरक्षित छ । जहाँ, विवाहमा एकैपटक लगाएर राखेकी आमाको रातो ‘सितारा साडी’को आयु सुरक्षित छ । भोकको सभामा मेरो देशले रगत र आशु पनि छुट्याउन नसक्दा इतिहासले गुँरासको बोटमा झुन्डिएर आत्महत्या गरेदेखि मैले पनि त्यो समयको हत्या गरीदिएर हत्यारा बने । र, एउटा अर्को नयाँ समयलाई गर्भवती बनाए । जसको, गर्भाधारणको श्रृङ्खला आज सम्मपनि चलिरहेको छ । पाठशालाले मेरो हातमा थम्याईदिएको ‘सर्टिफिकेट’ लाई मेरो घरको बाँच्ने कला देखेर अक्षरहरुले समेत गीज्याएपछि म भित्र एउटा डायरी बनेको छ । जसरी, नुनिलो पसिना माथि देशले जबर्जस्ती बलात्कार गरेपछि अखबारहरु नै डायरी बनिदिन्छन्् –दुर्घटनाको । अचेल, गाउँका माथिल्लो र तल्लो बाझा गह्राहरु खुब दोहोरी खेल्छन आ आफ्नो परिचयको । जो हेरी, आकाश एउटा अट्टहास आवाज निकाल्छ । तर, त्यो आवाज कसैले नसुनेपछि आकाश एकहोरो रोएर आशु बगाउछ । जुन आँशु सुरक्षित छ, म भित्रको डायरीमा । अहो ,म मान्छे जस्तै अनुहारको रहेछ भन्ने कुरा ऐना हेरेपछि थाहा पाए । ए मेरो देश, तिमिले कहिल्यै आफ्नो अनुहार ऐनामा हेर्यौ ? जसरी, बिहान किरणहरु साँझ फर्कने सम्झौतामा सुर्य सँग हस्ताक्षर गरेर उदाउछन । त्यसैगरी, म पनि आमाको रसीला आँखामा जिन्दगीको केहि खुशिला अशंहरु लिएर फर्कने सम्झौतामा यहि भुगोल सगँ हस्ताक्षर गरेर एउटा नयाँ यात्रा गर्दैछु ।
सक्छौ भने – प्रिय मेरो देश, मेरो हात काटिदेउ । नत्र, मेरा जस्ता हातहरुले युगौ सम्म आफ्नो जिन्दगीलाई नागरिकता र राहदानीमा दफनाएर देशको निधारमा बिग्रिएको हस्ताक्षर गरिरहनुपर्नेछ ।

कवि: Dilip Kunwar

Comments