रोपाइँ र देश---सफल सुरज (Safal Suraj)

कविता: रोपाइँ र देश
"हैन ए बाउसेहरु छिटो गर है मेलो पुगेन !"
"यी ब्याडेहरुलाई असारे गाउँदैमा फुर्शद छैन
ह्याँ बीउ सिधी सक्यो छिटो ल्याओ।"
"ए हलि दाइ लौन फटाफट गरौं ।"
"हन कति फतरफतर गर्छन् यी फतौरीहरु
काम गर न मेलो पुर्‍याउने काम हाम्रो भयो
यति भए पुगेन तिमेरुलाई?"
सुनिदै छ यस्तै गनथनहरू
पल्लाघरे साईलाको खेतमा ।
म हेर्दै छु यो रोपाइँ र यसका माहोल
अनि दाँज्दै छु रोपाइँ र देशलाई ।
सायद रोपाइँ र देश उस्तै हुने भै दिए
कति अघि पुग्थ्यो देश
हाँसखेल, ठट्टा र एकता यी रोपारहरुको
देख्छु र मन भित्र खेलाउँछु अनेकौँ सोच ।
देशका रोपारहरूले पनि यसरी
एकजुट भइ रोपाइँ गरे बन्ने थियो देश
एक उर्वर भुमी र आशाको देश
म सोच्न वाध्य हुन्छु
देशका रोपारहरु मिलीजुली
-कसैले ब्याड काडे
-कसैले बाउसे गरे
-कसैले गोरु जोते
-कसैले रोपाइँ गरे
कति एकरुपता हुन्थ्यो देशको
तर अफसोच
यहाँ एउटाले ब्याड छरे
अर्कोले ब्याडमा भैंसी चराई दिन्छ
अर्कोले गरामा पानी लगाए
अर्कैले मुल थुनीदिन्छ
र त हुन सकेन
रोपाइँ यो देशको ।
अब कामना छ एउटै
अबका रोपारहरू
जाँगरीला हुन् र राखुन्
एकतामा विस्वास
अनि बनाउन् यो उर्बर देशलाई
कृषिप्रधान हरियाली युक्त उर्जाशिल देश ।
-सफल सुरज (Safal Suraj)
बूढानीलकण्ठ, काठमाडौं

Comments