"बा र कमिज"-Bibash Babu

"बा र कमिज"
मेरा बा को काँचो कपडा
कमिज बनेदेखी
ह्याङ्गर भन्दा धेरै गलामा झुन्डियो ।
काखिको पसिनामा अत्तर मिसिएर
बाको कमिज लाई कैलै ककटेल भएन ।
नजिकै महङ्गा लकेट झुन्डिएर
कमिजको महत्वमा कैलै धावा बोलेनन ।
न कोटको अहमताले थिच्न पायो ।
न शोषणले झोतलेको ठूलो भुँडी बोक्नु पर्यो ।।
दिन्भरिमा
बाको कमिजले
बाले जस्तै
अलिकती बालाइ दिइएका ढाडा आदेस हरु
मौन बनेर सुन्छ ।
बाले जस्तै
पुरानो क्यासेटका नारायण गोपालका गितहरु

मेसिनको कटकट
कण्ठ बनाएको छ !!
दिन्भरिमा
बाको कमिजले
बाले जस्तै
अलिकती सडकको धुलो खान्छ ।
चौतारी चुरोटको धुंवा पनि सङ्सङै खान्छ ।
तिर्खाएर बाले पानी पिउंदा
ओठबाट बग्ने
जुठो पानी पिएर होला
बाको कमिजले बालाई औधी माया गर्छ ।
र त बालाई रुमाल किन्न बन्चित गरेका छन
कमिजका बाउलाहरुले ।
मेसिनका प्वालहरुमा
औंला छिर्ने उमेरदेखी
सियोमा धागो छिराउन नसक्ने उमेरसम्म
बाले आफ्नो जिन्दगी
मेसिन अगाडि जिइदिए ।
यो बिचमा बाले
कैयौं कमिजहरु चिटिक्क पारेर सिए ।
बिडम्बना
अभाबलाइ सिएर आवस्यकता पूरा गर्न
बाले कैलै सिकेनन ।
तर अचम्म
बाको मन भने कैलै उधृएन ।।
बर्शौं अघि
बाले बिस्टलाइ कमिज सिलाउंदा बचेको धागोले
आफ्ना लागि पनि कमिज सिलाएका थिए ।
एकाध सभा समारोह र भोट माग्दा बाहेक
बिस्टको कमिजले संसार देख्न पाएन ।
बरु दराजको अंधेरो कुनामा
घाम कुरेर बसिरह्यो ।
आज बर्शौं पछि
अर्को कमिज सिलाउने आदेस दिन
बिस्टको कमिज बिस्ट संगै आएको छ ।
यतिबेला बाको कमिजले
बिस्टको कमिजलाई
बिस्टजस्तै बेरङ्गी देख्यो ।
त्यतिमात्र देखेन
आँफुलाइ कमिज देख्यो ।।
अनि
बालाइ मान्छे देख्यो ।।।
Bibash Babu
@विवस बाबू बाग्लुङ्ग !

Comments