सन्दुक--इश्वर कुमार !!

एक हप्ता एक सर्जक र एक सृजना(हरेक सोमबार)
<b> इश्वर कुमार माता देवकी मैनाली र पिता बिदुर कुमार मैनालीको सन्तानका रुपमा जन्मिनु भएको हो।उहाको पूरा नाम इश्वर कुमार मैनाली हो।उहाँले बिएसी सम्मको अध्ययन गर्नु भएको छ।
साहित्यमा समाज-दर्शन-सामान्य जीवन -सौन्दर्य चेतना इत्यादीलाई प्रतिविम्बित गर्न रुचाउने इश्वर जी साहित्यले हर एक कुरालाई नयाँ दृष्टिकोण -जीवन- कालजयीता दिने कुरामा विस्वास राख्नु हुन्छ।निकै साय देखी साहित्यमा रुचि राख्ने उहाँ नाट्य क्षेत्रमा पनि उत्तिकै दखल राख्नु हुन्छ-निकै नाटकहरुमा सेमेत अभिनय गरिसक्नु भएको छ।
आज हामी उनै कवि/नाट्यकर्मी इश्वर कुमार को कविता यहाँ प्रस्तुत गरेका छौ।
शिर्षक - सन्दुक
अनुरोध हो या आदेश
मेरी आमाले सन्दुकको साँचो पटुकिमा कस्दै
कुनै बेला भनेकी थिइन
बाबू, यो साँचो म संगैं जलाइदिनु ।
त्यस बेला ,आमाका
-शब्दमा पीडा थियो
-आवाजमा अनौठो लय थियो
-हेराइमा अचम्मको प्रेम थियो ।
म आमाको छेउमा थिए
आमाका ओठहरु काँपेका थिए
शरीर थचक्क भुइमा बजारिएको थियो
अनौठो कम्पन तरङ्गित भएको थियो सन्दूक छेऊ ।
मैले सुनेको थिए ,सन्दुक भित्र
सम्पति छ।
एक दिन मेरो हातमा सन्दुकको साँचो पर्यो
खोले ,सन्दुक खाली थियो।
सन्दूक भित्र
-धेरै जाना थिए ,खजाना थिएन
-चम्किला किरा थिए ,हिरा थिएन
-मृत सपना थियो, गहना थिएन
सन्दुक सम्पती थियो
सन्दुक भित्र सम्पति थिएन ।
सन्दुकसङ्ग आमाको नाता के होला?
सन्दुकलाइ जोगाउनै पर्ने बाध्यता के होला ?
कतै
-आमाको पुरानो प्रेमिले,पुरानो प्रेम,पुरानो सन्दूक भित्र राखि उपहार दिएको भएर हो कि?
- दाइजो भएर हो कि?
-बा'लाइ लाहुर बाट ल्याउदा, बा संगै आएको बा'को अन्तिम निशानी भएर पो हो कि?
किन, आमा सन्दूकलाइ यतिका प्यार गर्नु हुन्छ।
म अरुले देश भन्ने बिदेश हिड्ने बेला
आगनको डिलबाट आँखा टिल्पिल बनाइ रहेकी आमालाई
त....ल देउरालीनेरी पुगेर कराउदै सोधे-
आमा ,त्यो सन्दुक कस्को हो ?
तपाईं त्यो सन्दुकको को हो ?
आमाले भक्कानिदै भनिन्
बाबू!
सन्दुक तेरो देश हो
म तेरो देशको संरक्षक ।

Comments