Skip to main content
आँसु -कविता
********
पुस्तकालयका हरेक ठेली पल्टाई भ्याँए
अर्थ के हो आँसुको ?
पुस्तक भन्छ-
दुई अक्षरको संयोजन
बजारका गल्ली गल्ली चहारि भ्याँए
मूल्य केहो आँसुको ?
बजार भन्छ-पु
बेमुल्य सामान
बैज्ञानिक प्रयोशालामा सोधी आएँ
बिज्ञान भन्छ-
नुन-पानीको समिश्रण
हे बैज्ञानिक
के तिमी समान देख्छौ, आँसु र पसिना?
खबरदार!
आँसु र पसिनाबाट एक चिम्टी नुन छुट्याउन
कयौं भावहरुको लिलामी गर्दै छौ तिमी
सायद!
खोजिरहेछन्
-फोहोरको डङुरमा कलिला बालक आँसुको अर्थ
-मजबुरिले परपुरुषका बिस्तारामा आमाहरु आँसुको मूल्य
-अरबको गर्मीमा बाबुहरु आँसुको परिभाषा
आमा भन्नूहुन्छ-
आँसु पिउनेले युग जित्छ अरे !
किन मर्छ त्यो सडक बालक भोकभोकै?
आमा!हेर्नू त
कति आँसु पिएको छ उसले,
युद्धमा हारेको सिपाही भन्छ
-हार आँसुको कारक
भोको पेट लिई गरिब भन्छ
-गरिबी हो आँसु
बिछोडिएकी प्रेमिका भन्छिन्
-धोका हो आँसु
धनाड्य साहु भन्छ
-धन हो आँसु
धोका हो आँसु?
भन त प्रिया
गुलाव कहिल्यै रोएको देख्यौ?
के- सयौं भमराले उसलाई धोका दिएनन् र?
हारलाई आँसुको कारक मान्छौ सुरवीर?
बताउ आज मलाई
टिस्टामा नेपाली गौरव लहराउँदा
किन भिजायौ, आँसुले मानचित्र?
अर्थ खोज्दै आँसुको
भौँतारिईरहे पाइताला
डुलिरह्यो मन सर्वत्र
गरेँ स्पर्श हरेक चोक-चोक, गल्ली-गल्ली
बसेँ लेख्न एउटा कविता
मन आक्रान्त छ कलम शान्त ।
तप् तप् ...
खसे कागजमा दुई थोपा
लाग्यो,
मन चर्किएर निस्कने लाभा रहेछ आँसु।
©अभिनव प्रत्युष
Comments
Post a Comment